पोखरा, माघ १० । साविक विजेता संकटा फुटबल क्लब पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलबाट बाहिरिएको छ।
सोमबार भएको खेलमा मछिन्द्र फुटबल क्लबसँग ४-१ गोल अन्तरले पराजित हुँदै संकटा बाहिरिएको हो। मछिन्द्र भने पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको छ।
पोखरा रंगशालामा मछिन्द्रलाई जित दिलाउन मेसुके ओलोमोउले दुई गोल गरे। यस्तै उत्सव राई र अविशेक गुरुङले एक एक गोल गरे।
संकटाका गणेश हमालले एक गोल फर्काए।
खेलको १२ औं मिनेटमा उत्सव राईले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए।
खेलको ४७ औं मिनेटमा मेसुकेले गोल गर्दै मछिन्द्रलाई २-० को अग्रता दिलाए ।
खेलको ६३ औं मिनेटमा गणेशले गोल गर्दै संकटालाई २-१ को स्थितिमा ल्याए।
अविशेकले खेलको ८४ औं मिनेटमा गोल गरेपछि मछिन्द्रले ३-१ को अग्रता बनायो।
त्यसपछि खेलको ८६ औं मिनेटमा मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई ४-१ को सहज जित दिलाए।
अब मछिन्द्रले सेमिफाइनलमा एपीएफ क्लबसँग खेल्नेछ।
पहिलो क्वाटरफाइनलमा बीवाईएससी मिनेसोटा युएसएलाई ३-१ गोल अन्तरले हराउँदै एपीएफ अन्तिम चारमा पुगिसकेको छ।
सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा कुल १० टिमको सहभागिता रहेको छ।
प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ-। यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ।
प्रतियोगितालाई पहिलो संस्करणदेखि नै हिमश्री फुड्स प्रा।लि।को उत्पादन आहा रारा तयारी चाउचाउले प्रायोजन गर्दै आइरहेको छ।
त्यस्तै सर्वोकृष्ट खेलाडीको प्रायोजन अप्रिला स्कुटरले गरेको छ भने सर्वाधिक गोलकर्ताको पुरस्कार हङकङ निवासी अधिवक्ता देव गुरुङले प्रायोजन गरेका छन्।


























