काठमाडौं, माघ ९ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आफ्नो मातहतमा रहेको रंगशाला, कभर्डहल र स्विमिङपुल लगायतका खेल पूर्वाधार अनिश्चितकालका लागि बन्द गरेको छ।
राखेपले एक सूचना जारी गर्दै रंगशाला लगायतका खेल पूर्वाधार अर्को सूचना जारी नभएसम्मको लागि बन्द गरिएको जनाएको छ। सरकारले कोभिड-१९ को संक्रमण रोकथामका लागि भिडभाड हुने कार्यक्रमहरु निषेध गरेको कारण खेल पूर्वाधार बन्द गरिएको राखेपले जनाएको छ।
‘कोभिड-१९ को ओमिक्रोनसहितको संक्रमण तिब्र बढ्दै गएको सन्दर्भमा सो को रोकथाम र उपचारलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी आदेश अनुसार जिमखाना, रंगशाला, कभर्डहल, स्विमिङपुल, फुटसल लगायतका मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रमहरु गर्न गराउन निषेध गरिएको हुँदा परिषद् अन्तर्गत रहेका रंगशाला, कभर्डहल र स्विमिङपुल लगायतका खेल पूर्वाधारहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको व्यहोरा अनुरोध गरिन्छ,’ राखेपले जारी गरेको सूचनामा भनिएको छ।


























