पोखरा, माघ ८ । विभागीय टिम नेपाल एपीएफ क्लब २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
शनिबार भएको पहिलो क्वाटरफाइनलमा बीवाईएससी मिनेसोटा युएसएलाई ३-१ गोल अन्तरले हराउँदै एपीएफ अन्तिम चारमा पुगेको हो। पोखरा रंगशालामा रवी थिङ नायक बनेपछि एक गोलको अग्रता उल्टाएर एपीएफले जित निकालेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको सुरुआतमै बीवाईएससीले अग्रता बनाएको थियो। खेलको ४७ औं मिनेटमा राइलीको क्रसमा मिगल पेलाफक्सले हेडरमार्फत गोल गर्दै बीवाईएससीलाई अग्रता दिलाएका थिए।
तर, खेलको ७० औं मिनेटमा आवाश लामिछानेले पेनाल्टीमा गोल गर्दै एपीएफलाई १-१ गोलको बराबरीमा फर्काएका थिए। अर्मान्डलाई बीवाईएससीका हेक्टरले पेनाल्टी एरियामा फउल गर्दै लडाएपछि एपीएफले पेनाल्टीको अवसर पाएको थियो। जसमा आवाशले सहजै गोल गरे।
खेलको ८४ औं मिनेटमा सब्सिच्युड खेलाडी रवीले गोल गर्दै एपीएफलाई २-१ को अग्रता दिलाए। त्यसपछि खेलको इन्जुरी समयमा रवीले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ३-१ को जित दिलाए। अब एपीएफले सेमिफाइनलमा संकटा क्लब र मछिन्द्र क्लबबीचको विजेतासँग खेल्नेछ।
यस अघि एपीएफले पहिलो खेलमा आयोजक सहारा क्लबलाई २-० ले हराएर क्वाटरफाइनलमा स्थान बनाएको हो। बिवाइएसी युएसए भने सिधै क्वाटरफाइनल खेल्न लागेको हो। सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा कुल १० टिमको सहभागिता रहेको छ।
प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ। यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ।
प्रतियोगितालाई पहिलो संस्करणदेखि नै हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा रारा तयारी चाउचाउले प्रायोजन गर्दै आइरहेको छ।
त्यस्तै सर्वोकृष्ट खेलाडीको प्रायोजन अप्रिला स्कुटरले गरेको छ भने सर्वाधिक गोलकर्ताको पुरस्कार हङकङ निवासी अधिवक्ता देव गुरुङले प्रायोजन गरेका छन्।


























