माघ ३ । पीएम कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार चौंथो जित निकालेको छ।
समूह ‘ए’ अन्तर्गत टियु क्रिकेट मैदानमा सोमबार पुलिसले प्रदेश १ लाई ६ विकेटले पराजित गरेको हो। यस समूहमा पुलिसले चारमध्ये चारवटै खेलमा जित हात पार्दै ८ अंक जोडेको छ।
त्रिभुवन आर्मी क्लबले चार खेलमा ६ अंक जोडेको छ। आर्मीले दुई खेलमा जित तथा एक खेलमा प्रदेश १ सँग अंक बाडेको थियो। यता सुदुरपश्चिम प्रदेशले ४, कर्णालीले २ र प्रदेश १ ले केवल १ अंक जोड्दै प्रतियोगिताबाट बाहिरिए।
सोमबारको खेलमा पुलिसले १ सय २ रनको लक्ष्य १३ दशमलब १ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो। पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ४४ रनको योगदान गरे। भुर्तेलले २८ बल खेल्दा समान तीन चौका र तीन छक्का प्रहार गरे।
अनिल साह २४ बलमा २६ रन बनाउदै अविजित रहे। उनले दुई चौका र एक छक्का प्रहार गरे। दिपेन्द्र सिह ऐरीले २० रन जोडे । दिपेन्द्रले १३ बलको सामना गर्दा ३ चौका र एक छक्का हिर्काए।
प्रदेश १ का मनोज तामाङ, मुकुन्द यादव, फिर्दोस अन्सारी र दिपेश कँडेलले एक–एक विकेट हात पारे। यस अघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय १ रन जोडेको हो।
प्रदेश १ का लागि ओपनर मिनास थापाले ५९ रनको योगदान गरे। श्रवण यादवले १० रन जोड्दा अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन बनाउन सकेनन्।
पुलिसकातर्फबाट आरिफ शेख, दिपेन्द्र सिंह ऐरी र मञ्जीत श्रेष्ठले समान दुई–दुई विकेट हात पारे। करण केसी र सागर ढकालले एक–एक विकेट लिए।


























