चितवन, मंसिर २४ । चितवन राष्ट्रिय निकुञ्ज कसरामा रहेको दुर्लभ घडियाल गोही प्रजनन् केन्द्रमा भाले गोही बूढो हुँदा प्रजननमा समस्या भएको छ। गोही बूढो हुँदा प्रजनन केन्द्रमा रहेका पोथी गोहीमा प्रजननक्रिया भएपनि अण्डा बाट बच्चा नहुने गरेको प्रजनन् केन्द्रका सहायक वार्डेन तथा गोही बिज्ञ बेदप्रसाद खड्काले बताए।
चितवनको यो प्रजनन् केन्द्रमा हाल १ मात्र भाले गोही रहेको र उक्त भाले गोहीबाट करीब ५र६ बर्षदेखि प्रजननमा समस्या देखिएको उनले बताए। ४२ बर्षीय यो भाले गोहीबाट गोही प्रजननमा समस्या भएपछि भाले गोही भारतबाट ल्याउने तयारी भइरहेको चितवन राष्ट्रिय निकुज्जका वार्डेन अणनाथ बरालले बताए।
प्रजनन केन्दमा हाल ११ वटा पोथी गोही रहेको र यी गोहीहरुले पारेको करिब ३ सय अण्डाबाट एउटा पनि बच्चा नभएको सहायक वार्डेन खड्काले बताए।गोहीहरुको प्रजनन हुन्छ तर अण्डा पार्दा भाले नलागेको अण्डा पार्ने गरेपछि भाले गोहीमा समस्या देखिएको हुनसक्ने केन्द्रले जनाएको छ।
२०३५ सालमा घडियाल गोही संरक्षण गर्ने उद्देश्य स्थापना गरिएको उक्त प्रजनन केन्द्रबाट हालसम्म नारायणी, कोशी, राप्ती, बबई र कर्णाली नदीमा गरी १ हजार ५ सय वटा छाडिएका छन। यो प्रजनन् केन्द्रमा हाल ६ सय ५७ वटा घडियाल गोही रहेका छन्।


























