काठमाडौं, माघ २ । पीएम कप टी–टवान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सुदुरपश्चिम प्रदेशले प्रदेश नं. १ माथि सानदार जित दर्ता गरेको छ।
समूह ‘ए’ अन्तर्गत प्रतियोगिताबाट बाहिरिसकेको सुदुरपश्चिमले प्रदेश १ लाई ७ विकेटले पराजित गरेको हो। पराजयसँगै सेमिफाइनल प्रवेश गर्ने प्रदेश १ को सम्भावना पनि टुंगिएको छ भने यस समूहबाट त्रिभुवन आर्मी क्लब अन्तिम चारमा प्रवेश गरेको छ।
समूह ‘ए’ बाट लगातार तीन खेल जित्दै ६ अंककासाथ नेपाल एपीएफ क्लब समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ। यता समूहको उपविजेता बनेको आर्मीले ४ खेलबाट ५ अंक जोडेको छ।
सुदुरपश्चिमले ४ खेलमा ४, कर्णालीले ४ खेलमा २ तथा प्रदेश १ ले ३ खेलमा १ अंक जोड्दै प्रतियोगिताबाट बाहिरिसकेको छ। तर प्रदेश १ ले आफ्नो अन्तिम खेल एपीएफविरुद्ध सोमबार खेल्दैछ।
आईतबारको खेलमा १ सय ५९ रनको लक्ष्य सुदुरपश्चिमले १९ दशलमब १ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो। सुदुरपश्चिमका लागि राजु रिजालले अर्धशतकिय इनिङ्स खेले। राजुले ५२ बलमा ६८ रन बनाउदा ९ चौका र २ छक्का हिर्काए।
कप्तान सन्तोष भट्टले ३९ बलमा ४८ रनको योगदान गरे। उनले ४ चौका र ३ छक्का प्रहार गरे। सन्तोषले राजुसँग पहिलो विकेटका लागि ९८ रनको साझेदारी गरेका थिए।
अर्जुन साउद ११ बलमा २६ रन जोड्दै अविजित रहे। उनले ३ चौका र एक छक्का हिर्काए। प्रदेश १ का कमल खत्री, फिर्दोस अन्सारी, मुकुन्द यादवले एक–एक विकेट हात पारे।


























