काठमाडौं, पुस ३० । त्रिभुवन आर्मी क्लबले पीएम कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ।
समूह ‘ए’ अन्तर्गत मुलपानी क्रिकेट मैदानमा सुदुरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गर्दै आर्मीले चार खेलमा दोस्रो जित दर्ता गरेको हो।
आर्मीले यस अघि कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेपनि नेपाल पुलिस क्लबसँग चार विकेटको हार व्योहोरेको थियो। तेस्रो खेल हुन नसकेपछि प्रदेश नं। १ सँग एक–एक अंक बाडेको थियो।
सुदुरपश्चिमले भने पुलिसविरुद्ध पहिलो खेलमा दुई रनले पराजय भोग्दा कर्णालीलाई ४७ रनले पराजित गरेको थियो। शुक्रबारको खेलमा १ सय १६ रनको लक्ष्य आर्मीले निर्धारित २० ओभरमा ७ विकेट विकेट गुमाएर पुरा गर्यो।
आर्मीका लागि हरी चौहानले ३३ रन जोडे। विक्रम सोब २९ रनमा नटआउट रहे। सुदुरपश्चिमका आदित्य महताले सर्वाधिक ४ विकेट हात पारेपनि जितका लागि पर्याप्त भएन। नारायण जोशी, हेमन्त धामी र शेर मल्लले एक–एक विकेट लिए।
यसअघि मुलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले २० ओभरमा अलआउट हुँदै १ सय १५ रन बनायो। सुदुरपश्चिमका लागि खडक बोहराले सर्वाधिक ३७ रन जोडे। बसन्त कार्कीले ३४ रन जोड्दा अर्जुन साउदले १५ रन बनाए। आर्मीका बिक्रम सोबले ६ विकेट लिए। किफायती बलिङ गरेका उनले ८ रन खर्चिए।
कुशल मल्ल, शाहब आलम र हरि चौहानले १/१ विकेट लिए।


























