पुस २९ । अफ्रीका कप अफ नेसन्समा मालीले सुखद सुरुआत गरेको छ।
बुधबार राति भएको खेलमा ट्युनिसियालाई १-० गोल अन्तरले हराउँदै मालीले सुखद सुरुआत गरेको हो। मालीको जितमा इब्राहिम कोनले निर्णायक गोल गरे। इब्राहिमले खेलको ४८ औं मिनेटमा पेनाल्टीबाट गोल गरे।
जुन गोल मालीको जितमा निर्णायक बन्यो। ट्युनिसियाले भने पेनाल्टीमा गोल गर्न सकेन। खेलको ७७ औं मिनेटमा वाहबी खाजरीले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार मालीका गोलकिपर इब्राहिम मौनकोरोले बचाए।
यस्तै खेलको ८७ औं मिनेटमा बिलाल टाउरेले रातो कार्ड पाएपछि माली १० खेलाडीमा समेटिएको थियो।
यस्तै अन्तिम पाँच मिनेट खेल विवादास्पद बन्यो।
रेफ्री जेनी सिकज्वेले पाँच मिनेट अगाडी खेल सकिएको इशारा गर्दै सिट्ठी बचाएपछि विवाद उत्पन्न भएको थियो।
पछि आयोजकले खेल पुरै समय खेलाउन निर्देशन दिएको थियो। तर, ट्युनिसियाका खेलाडी मैदान फर्केनन् र मालीलाई विजेता घोषित गरिएको थियो।
यस जितसँगै समूह एफको मालीले ३ अंक जोडेको छ। ट्युनिसियाले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ।


























