चितवन, पुस २२ । सन्तोष तामाङको उत्कृष्ट प्रदर्शनको मद्तमा हर्दी युवा समाजले भरतपुरमा जारी सेन्ट्रल कलेज चितवन जिल्ला ‘ए’ डिभिजन लिगमा जित हात पारेको छ।
आज (बिहीबार) भएको पहिलो खेलमा हर्दीले एस्ट्रल युथ सोसाइटी चोकबजारलाई २-१ ले पाखा लगायो। तिनै गोल दोस्रो हाफमा सम्भावन भएको थियो। निकै रोमाञ्चक खेलमा हर्दीलाई जिताउन सन्तोष तामाङले दुई गोल गरे। एस्ट्रलका राहुल दुराले एक गोल फर्काए।
रोमाञ्चक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। पहिलो हाफमा एस्ट्रलले गोल गर्ने आधा दर्जन अवसर खेर फाल्यो। एस्ट्रलले मौका सृजना गरे पनि फिनिसिङ कमजोर देखियो।
खेलको ७२ औं मिनेटमा सन्तोषले डि बक्स बाहिरबाट आकर्षक गोल गर्दै हर्दीलाई अग्रता दिलाएका थिए। तर हर्दीको अग्रता ३ मिनेट पनि टिक्न सकेन। ७५ औं मिनेटमा एस्ट्रलका राहुलले बराबरी गोल फर्काए। लगत्तै ७६ औं मिनेटमा सन्तोषले गोल गर्दै हर्दीको जित सुनिश्चित गरे। खेलको म्यान अफ दि म्याच हर्कीका सन्तोष घोषित भए। जित संगै हर्दीले समूह ‘ए’ मा ३ अंक जोडेको छ।
लिग अन्तर्गत आज नै हुने दोस्रो खेलमा एभरेष्ट क्लब र नारायणी एफसी भिड्नेछन्। चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी लिग माघ ८ गतेसम्म चल्नेछ। लिगमा १३ टोली सहभागी छन्।
लिग बिजेताले ट्रफीसहित एक लाख पाउनेछ भने उपबिजेताले ५० हजार प्राप्त गर्नेछ। तेस्रो र चौथो हुने टोलीले समान २५/२५ हजार प्राप्त गर्नेछ।


























