काठमाडौँ, पुस १९ । आईसीसी टी–ट्वेन्टी विश्वकप छनोटका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको बन्द प्रशिक्षण शुरू भएको छ। आइतबारदेखि नै शुरू गर्ने भनिए पनि असन्तुष्ट खेलाडीहरू उपस्थित नभएपछि शुरू हुन नसकेको बन्द प्रशिक्षण सोमबारबाट शुरू भएको हो।
आइतबार नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारी र असन्तुष्ट खेलाडीका तर्फबाट पूर्व कप्तान ज्ञानेन्द्र मल्लबीचको बैठकमा क्यानले कप्तान परिवर्तन बाहेकको निर्णय फिर्ता लिने र चार जना खेलाडीलाई ६ महिनासम्म पारिश्रमिक उपलब्ध नगराउने निर्णय फिर्ता लिन क्यान सहमत भएपछि विवाद समाधानोन्मुख भएको दाबी गरिएको छ।
सोमबारको प्रशिक्षणमा यसअघि अनुपस्थित भएका केही खेलाडीहरू उपस्थित भएका छन्। केहीको भने पीसीआर परीक्षण लगायत प्रक्रिया बाँकी नै रहेकाले केही ढिला भएको क्यानले जनाएको छ। पूर्वकप्तान ज्ञानेन्द्र मल्लसहित केही खेलाडीको पीसीआर परीक्षण गर्न बाँकी छ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले खेलाडीहरूलाई बन्द प्रशिक्षणमा सहभागी हुन आज साँझ ६ बजेसम्मको समय दिइएको बताए। तर ज्ञानेन्द्रलगायत खेलाडीहरू प्रशिक्षणमा फर्कने नफर्कने तय भई नसकेको स्रोतले जनाएको छ। अरू खेलाडीले ज्ञानेन्द्रले प्रशिक्षणमा फर्किने निर्णय गरे आफूहरु पनि प्रशिक्षणमा सहभागी हुने नत्र नहुने बताइरहेको स्रोतको दाबी छ।
कप्तान सन्दीप लामिछाने भने बीग बास प्रतियोगिता खेल्ने क्रममा अहिले अष्ट्रेलियामा छन्। अनुशासन उल्लंघन गरेको पाइएको भन्दै क्यानको बोर्ड बैठकले ज्ञानेन्द्र र दीपेन्द्रलाई कप्तान र उपकप्तान पदबाट हटाउनुका साथै मल्ल ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई ६ महिनाको केन्द्रीय सम्झौतामा नराख्ने निर्णय गरेको थियो।
त्यसपछि चार जना खेलाडी सहित क्यानका ६ जना सदस्यहरूले समेत बेग्लाबेग्लै पत्रकार सम्मेलन गरी यो निर्णय गलत भएकाले क्यानले निर्णय सच्याउनुपर्ने बताएका थिए। क्यान खेलाडीको सेन्ट्रल कन्ट्रयाक्टको कारबाही फुकुवा गर्न तयार रहे पनि कप्तानमा सन्दीप नै हुने कुरामा अडिग देखिएको छ।


























