काठमाडौं, पुस १८ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज आइतबार एक खेल हुँदैछ। लिगको सातौं चरण अन्तर्गत आइतबार एक मात्र खेल हुन लागेको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने एक मात्र खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र साविक विजेता मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ। पुलिस र मछिन्द्रबीचको खेल पाने ५ बजे सुरु हुनेछ।
उपाधि दाबेदार मानिएको मछिन्द्रका लागि यस खेल महत्वपूर्ण रहेको छ। एएफसी कप छनोट खेल्नका लागि मछिन्द्रलाई पुलिसविरुद्ध जित्नैपर्ने दबाब छ।मछिन्द्र ६ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। एएफसी कप छनोट खेल्न सातौं चरण सकिदा मछिन्द्रलाई शीर्ष स्थानमा उक्लनु पर्नेछ।
यस्तोमा मछिन्द्रलाई जित बाहेक अन्य बिकल्प छैन। पुलिससँग हार वा बराबरीमा रोकिएमा मनाङ एएफसी कपका लागि छनोट हुनेछ। मनाङ ७ खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ।
यता, पुलिस ६ खेलमा ६ अंक जोडेर दशौँ स्थानमा रहेको छ। पुलिस आज मछिन्द्रलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ। तर, खराब लयमा रहेको पुलिसलाई जित निकाल्न सहज भने छैन।


























