काठमाडौं, पुस १७ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले जित निकालेको छ।
शनिबार भएको खेलमा थ्री स्टारले जवालाखेल युथ क्लबलाई २-१ गोल अन्तरले हराएको हो। थ्री स्टारलाई जित दिलाउन आयुष घलान र ऋतिक कुमार खड्काले एक एक गोल गरे।
जावलाखेलका निकोलस फर्नान्डेसले एक गोल फर्काए। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको सातौं मिनेटमा आयुषले गोल गर्दै थ्री स्टारलाई सुरुआती अग्रता दिलाएका थिए। खेलको २६ औं मिनेटमा ऋतिकले गोल गर्दै पहिलो हाफमा थ्री स्टारलाई २-० को अग्रता दिलाएका हुन्।
दोस्रो हाफमा जवालाखेलले एक गोल फर्कायो। निकोलसले ५५ औं मिनेटमा गोल गर्दै जावलाखेललाई २-१ को स्थितिमा ल्याए। त्यसपछि दुबै टोलीले थप गोल निकाल्न सकेनन्।
थ्री स्टारको दोस्रो जित हो। यस जितसँगै लिगको पाँचौं स्थानमा उक्लिएको छ। थ्री स्टारले ७ खेलमा १० अंक जोडेको छ। जावलाखेलले ७ खेलमा ७ अंक जोडेको छ। जावलाखेल नवौं स्थानमा रहेको छ।
थ्री स्टारका कप्तान बिक्रम लामा म्यान अफ दि म्याच चुनिए। इमर्जिङ प्लेयर ऋतिक खड्का बने।


























