काठमाडौं, पुस १७ । निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आइतबारदेखि काठमाडौँ–सुर्खेत व्यावसायिक उडान सुरू गर्न लागेको छ। सन् २०२२ को सुुरूआतमै यो कम्पनीले थप गन्तव्यका रूपमा सुर्खेत उडान गर्न लागेको हो। हाल बुद्ध एयरलाइन्सले मात्र काठमाडौँ–सुर्खेत रुटमा उडान गर्दै आएको छ। गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्ज्वल थापाले आइतबार (पुस १८ गते) देखि १८ सिटे जहाजबाट उडान सुरुआत गर्न लागेको जानकारी दिए।
काठमाडौँ–सुर्खेत उडानका लागि भाडादर तोकिसकेको छ। अनलाइन टिकटमा काठमाडौैँ–सुर्खेतका लागि रु आठ हजार ५४५, नौ हजार ५४५ र ११ हजार ४२० भाडादर तोकेको उक्त एयरलाइन्सले दैनिक बिहान साढे ८ बजे काठमाडौँबाट र सुर्खेतबाट ९ बजेर ५० मिनेटमा उडान भर्ने जनाएको छ। प्रवक्ता थापाले यही पुस २६ गतेदेखि भने दिउँसो साढे २ बजे काठमाडौँबाट र सुर्खेतबाट ३ बजेर ५० मिनेटमा उडान गर्ने बताए। बुद्ध एयरले भने दैनिक बिहान ७ बजेर २० मिनेटमा काठमाडौँबाट उडान भर्दै आएको छ। रासस


























