पुस १० । एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत आज शनिबार नेपालको महिला र पुरुष टोलीले प्रतिस्पर्धा गर्दैछन्।
नेपालको महिला टोलीले आज आयोजक बंगलादेशको सामना गर्नेछ। नेपाल र बंगलादेशबीचको खेल बिहान सवा ९ बजे सुरु हुनेछ।
साविक विजेता समेत रहेको महिला टोली आज लगातार तेस्रो जितको खोजीमा हुनेछ। पहिलो खेलमा नेपालले श्रीलंकालाई ३-२ सेटमा हराएको थियो। यस्तै दोस्रो खेलमा माल्दिभ्सलाई ३-० को सेटमा हराएको थियो।
यस्तै पुरुष टोलीले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र श्रीलंकाबीचको खेल दिउसो पाैने ६ बजे सुरु हुनेछ।
नेपाल दोस्रो जितको खोजीमा हुनेछ। पहिलो खेलमा नेपाल बंगलादेशसँग ३-० को सेटमा पराजित भएको थियो। तर, दोस्रो खेलमा उज्वेकिस्तानलाई ३-१ को सेटमा हराएको थियो।
प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्रको सहभागिता रहेको छ। पुरुषमा आयोजक बंगलादेश, नेपाल, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन्।
महिलामा आयोजक बंगलादेश, नेपाल, किर्गिस्तान, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन्। राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ।
यस्तै तेस्रो र चौंथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ।


























