पुस ९ । एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत आज शुक्रबार नेपालको महिला र पुरुष टोलीले प्रतिस्पर्धा गर्दैछन्।
नेपालको महिला टोलीले आज माल्दिभ्सको सामना गर्नेछ। नेपाल र श्रीलंकाबीचको खेल बिहान सवा ११ बजे सुरु हुनेछ। नेपालको महिला टोली आज लगातार दोस्रो जितको खोजीमा हुनेछ। बिहीबार भएको पहिलो खेलमा नेपालले श्रीलंकालाई ३-२ सेटमा हराएको थियो।
यस्तै पुरुष टोलीले आज आयोजक उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र उज्वेकिस्तानबीचको खेल बेलुका पौने ६ बजे सुरु हुनेछ। नेपाल आज पहिलो जितको खोजीमा हुनेछ। पहिलो खेलमा नेपाल बंगलादेशसँग ३-० को सेटमा पराजित भएको थियो।
प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्रको सहभागिता रहेको छ। पुरुषमा आयोजक बंगलादेश, नेपाल, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन्। महिलामा आयोजक बंगलादेश, नेपाल, किर्गिस्तान, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन्। राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ।
यस्तै तेस्रो र चौंथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ। महिलातर्फ नेपाल साविक विजेता हो। पुरुषतर्फ नेपाल समूह चरणबाट बाहिरिएको थियो।


























