मंसिर २९ । अर्जेन्टीनाको बोका जुनियर्सले स्पेनिस क्लब बार्सिलोनालाई पराजित गर्दै म्याराडोना कपको उपाधि जितेको छ।
साउदी अरबको राजधानी रियाधस्थित मार्सुल पार्क स्टेडियममा भएको खेलमा बार्सिलोनालाई पेनाल्टीमा पराजित गर्दै बोका जुनियर्सले उपाधि जितेको हो। अर्जेन्टीनाका महान फुटबल खेलाडी डिएगो म्याराडोनाको सम्झनामा दुई टिमबीच मैत्रीपूर्ण खेल भएको थियो।
म्याराडोनाको गत वर्ष नोभेम्बर २५ मा हृदयघातका कारण ६० वर्षको उमेरमा निधन भएको थियो। दुई टिमबीच निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि पेनाल्टीमार्फत विजेताको टुंगो लगाइएको थियो। पेनाल्टीमा बोका जुनियर्सले बार्सिलोनालाई ४–२ ले पराजित गरेको थियो।
यस अघि फेरन गुग्लाले ५१ मिनेटमा बार्सिलोनालाई अग्रता दिलाएपनि बोका जुनियर्सका इचक्वेल सेवालोसले ७६ मिनेटमा बराबरी गोल गरेका थिए। खेल हेर्नका लागि सन् १९८६ विश्व कप विजेता टोलीका परिवारका सदस्य तथा साउदी अरबका विभिन्न क्लबका पदाधिकारीहरु आएका थिए।
म्याराडोनाले सन् १९८१–१९८२ तथा १९९५ बोका जुनियर्सबाट खेलेका थिए। त्यसैगरी, उनले सन् १९८२ देखि १९८४ सम्म दुई सिजन बार्सिलोनाका लागि समेत खेलेका थिए।


























