चितवन, मंसिर २९ । पुस पहिलो साता चितवनको भरतपुरमा अन्र्तराष्ट्रिय औद्योगिक प्रदर्शनी हुनेभएको छ। चितवन उद्योग संघको आयोजनामा २ देखि ४ गतेसम्म प्रदर्शनी आयोजना गरिएको आयोजकले आज (बुधवार) पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन्।
यसपटक हुने छैठौँ संस्करणमा राष्ट्रिय आविष्कार केन्द्रको विशेष स्टलसहित २०० स्टल रहने चितवन उद्योग संघका उपाध्यक्ष सूर्यप्रसाद न्यौपानेले बताए। प्रदर्शनी सम्पन्न गर्न करिब दुई करोड २५ लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको न्यौपानेले जानकारी दिए। चितवनको औद्योगिक क्षेत्रमार्फत अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले औद्योगिक प्रदर्शनी गर्न लागिएको आयोजकले बताएको छ।
यस प्रदर्शनीमा देशभरका उद्योग तथा व्यवसाय गर्न इच्छुक नवउद्यमी, विभिन्न राष्ट्रका आधुनिक प्रविधि उत्पादक, आधुनिक औद्योगिक प्रविधिबारे जानकारी राख्न इच्छुक उद्योग तथा व्यवसायसँग सम्बन्धित व्यक्तिहरूले अवलोकन गर्ने छन्।
प्रदर्शनीमा भारतीय बजारमा ख्याति कमाएका युरोपेली र चिनियाँ कम्पनीका औद्यौगिक प्रविधिहरु प्रर्दशनीमा भित्र्याइने आयोजकको दावी छ। प्रदर्शनीमा प्रवेश निःशुल्क छ।


























