मंसिर २८ । पीएम कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार पीएम कपको खेल तालिका सार्वजनिक गरेको हो। धनगढीको फाप्ला क्रिकेट मैदानमा आयोजना हुने पीएम कप महिला क्रिकेट पुस ३ देखि ११ गतेसम्म हुनेछ।
क्यानले सार्वजनिक गरेको तालिका अनुसार पुस ३ गते हुने पहिलो खेलमा प्रदेश-१ र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। त्यहिँ दिन दोस्रो खेलमा बागमती प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ। आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ए मा प्रदेश-१, लुम्बिनी प्रदेश, बागमती प्रदेश,कर्णाली प्रदेश रहेको छ।
समूह बी मा नेपाल एपीएफ क्लब, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश-२ रहेको छ। समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।फाइनल खेल पुस ११ गते हुनेछ।


























