काठमाडौँ, मंसिर २८ । कांग्रेसको सभापतिका लागि जारी मतगणनामा शेरबहादुर देउवाले शेखर कोइरालासँगको अग्रता बढाउँदै गएका छन्। राष्ट्रियसभा गृहमा बिहानदेखि सुरु भएको मतगणनामा २००६ मतको गणना सकिँदा देउवाले ९५८ मत पाएका छन्।
अर्का उम्मेदवार शेखर कोइरालाले ७२६ र प्रकाशमान सिंहले १५३ मत प्राप्त गरेका छन्। त्यस्तै विमलेन्द्र निधिले ११७ मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने ६ मत मात्र प्राप्त भएको छ।
कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ। ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ। नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ।
आइतबार मध्यान्ह सुरु भएको मतदान राति पौने १२ बजेतिर मात्र सकिएको थियो। कुल ४ हजार ७४३ प्रतिनिधिमध्ये ४ हजार ६७९ मत खसेको थियो।
Facebook Comments


























