काठमाडौँ, मंसिर २६ । नेपाली कांग्रेसमा महामन्त्री पदका उम्मेद्वार डा.प्रकाशशरण महतले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।
१४औँ महाधिवेशनमा शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका महतले आइतबार अवधारणा पत्र सार्वजनिक गर्दै ‘पार्टीलाई सबल, सुदृढ र ब्यवस्थित गर्दै कार्यकर्ता तथा नागरिकप्रति उत्तरदायी बनाउने उद्देश्य र प्रतिबद्धताका साथ महामन्त्रीको पदमा उम्मेदवार बन्ने निर्णय गरेको’ बताएका हुन्।
कांग्रेसलाई नेपालको लोकतन्त्रको पर्यायको रुपमा स्थापित गर्दै सबल बनाएर आमनागरिकको आर्थिक समुन्नतिको सारथी बनाउने संकल्प उनले लिएका छन्।
कांग्रेसको मार्गनिर्देशक लोकतान्त्रिक समाजवादको समयानुकूल ब्याख्या गरी सामाजिक न्यायलाई उच्च प्राथमिकता दिँदै समुन्नत र समतामूलक समाज स्थापना गर्ने नीति, रणनीति र कार्यक्रम तय गरिने उनले बताएका छन्।

























