वीरगञ्ज, मंसिर १६ । यहाँ ‘मेड इन नेपाल एक्स्पो’ (प्रदर्शनी) हुने भएको छ। स्वदेशी उद्यम र उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले आगामी फागुनको १२ देखि १५ गतेसम्म सो प्रदर्शनी सञ्चालन हुने छ।
नेपाली युवा उद्यमी फोरम (एनवाइइएफ) वीरगञ्ज र आर्थिक अभियान दैनिकको सहकार्यमा मोफसलमै पहिलो पटक यस्तो प्रदर्शनी हुन लागेको छ। वीरगञ्जको आदर्शनगरस्थित पुरानो बसपार्क रहेको खाली स्थानमा प्रदर्शनी आयोजना गरिने एनवाइइएफका अध्यक्ष अनुप अग्रवालले जानकारी दिए।
स्वदेशी उद्यम र उत्पादन प्रवद्र्धनको उद्देश्यले आयोजना हुन लागेको प्रदर्शनीमा विभिन्न उत्पादनका लागि करिब १३० वटा कक्षको व्यवस्था मिलाइने आयोजकले बताएको छ। प्रदर्शनीमा स्वदेशमा उत्पादित औद्योगिक उत्पादन, सेवा व्यवसाय, घरेलु तथा हस्तकलाका उत्पादन, प्रविधि, स्थानीय कला संस्कृति, साहित्य, स्थानीय खानाका परिकारलगायतको प्रदर्शनी गरिने भएको छ।
प्रदर्शनीको लागि कक्ष बुकिङ सुुरू भइरहेको र महिला तथा फरक क्षमताका उद्यमीका लागि कक्षमा विशेष सहुलियत दिइने पनि आयोजकले बताएको छ। नेपाली उद्यमीबीच अनुभवको आदानप्रदान र अवसरको उपयोगमार्फत देशको आर्थिक विकासको उद्देश्यलाई सघाउने लक्ष्यसहित प्रदर्शनी आयोजना गर्न लागिएको अध्यक्ष अग्रवालले जानकारी दिए।
प्रदर्शनीमा वस्तु तथा सेवाका उत्पादक र ग्राहकबीच साक्षात्कार हुने र यसबाट उपभोक्ताले स्वदेशी उत्पादनबारे जानकारी पाउने बताइएको छ। उद्यमशीलताको भावना जागृत गराउँदै नयाँ सोच र खोजका साथ उद्यम व्यापारलाई देशको आर्थिक विकासको मेरुदण्डका रुपमा स्थापित गर्ने अभियानअन्तर्गत प्रदर्शनी आयोजना हुन लागेको हो।
उपभोक्ताको रुचिअनुसार उत्पादन परिमार्जन र बजारीकरणमा सहयोग पुग्नेमा आयोजक विश्वस्त देखिएको छ। लगानीका नयाँ सम्भाव्यताको खोजी गर्दै स्वदेशी वस्तु तथा सेवाको प्रवद्र्धनमार्फत देशको आर्थिक विकासमा प्रदर्शनीले सघाउ पुर्याउने दाबी आयोजकको छ। रासस


























