काठमाडौँ, मंसिर १६ । नेपाली कांग्रेसको प्रदेश अधिवेशन बिहीबार दिउँसो २ बजे उद्घाटन हुने भएको छ।
नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट २ बजे अधिवेशनको उद्घाटन गर्ने नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
शर्माका अनुसार सात वटै प्रदेशमा एकै पटक अधिवेशनको उद्घाटन गरिए पनि प्राविधिक समस्याका कारण केही प्रदेशमा अधिवेशन ढिला हुने देखिएको छ। ५ वटा प्रदेशमा भने तयारी पुरा भइसकेको उनले बताए।
त्यस्तै कांग्रेसको केन्द्रीय महाधिवेशनको लोगो पनि आजै सार्वजनिक हुने प्रवक्ता शर्माले जानकारी दिए। प्रधानमन्त्री देउवालले मध्याह्न ४ बजे एक कार्यक्रममार्फत लोगो सार्वजनिक गर्ने शर्माले बताए।
कांग्रेसको १४ औँ महाधिवेशनमा राम्रो लोकतान्त्रिक अभ्यास गरिने उनको भनाइ छ। कांग्रसले सभ्य भएर आफ्नो १४ औँ महाधिवेशन सम्पन्न गर्ने उनले बताए।
महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न २९ वटा मतपत्र प्रयोग हुने र एकजना मतदातालाई भोट हाल्न करिब १ घण्टा लाग्ने अनुमान गरिएको उनले बताए। ‘उत्साह, एकता, रुपान्तरणः सफल बनाऔँ नेपाली कांग्रेसको १४ औं महाधिवेशन’ भन्ने मूल नाराका साथ केन्द्रीय महाधिवेशनलाई सफल र सम्पन्न गरिने उनले बताए।
केन्द्रीय महाधिवेशनका लागि भृकुटीमण्डप, नेपाल पुलिस क्लब र राष्ट्रियसभा गृहलाई मतदान केन्द्र तोकिएको छ। कांग्रेसको केन्द्रीय महाधिवेशन यही मंसिर २४ गते काठमाडौँमा हुदैँछ।


























