नवलपुर, मंसिर ९ । विस्तारको क्रममा रहेको पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ सडकखण्ड तत्काल मर्मत गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिइएको छ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनीले एमालेको दशौँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै सडक मर्मत गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको हो। यो खण्डका केही स्थानमा सडक मर्मत गर्नुपर्ने अवस्था देखिएकाले तुरुन्त मर्मत गर्न निर्देशन दिएको उनले बताए। “नारायणगढ–बुटवल सडकखण्डको धेरै स्थानमा सडक मर्मत भएका छन्, अझै केही स्थानमा मर्मत गर्नुपर्ने अवस्था छ” प्रजिअ पङ्गेनीले भने, “महाधिवेशनमा सहभागी हुन पश्चिमका जिल्लाबाट धेरै सवारीसाधन आउने जानकारी आएको छ। बिग्रेको सडकमा जाम हुने भएकाले निर्माण कम्पनीलाई तुरुन्त मर्मत गर्न निर्देशन दिएको छु।”
पूर्व–पश्चिम राजमार्गको खण्ड १ मा भत्किएको सडक दसैँ अगाडि नै मर्मतको काम सक्नका लागि नारायणगढ–बुटवल सडक विस्तार आयोजनाले पटक–पटक पत्राचार गरेको थियो। नेपाली पक्षले पत्राचार गरे पनि निर्माण कम्पनीले अटेरी गर्दै आइरहेको सहायक प्रमुख जिल्ला अधिकारी मोहन थापाले बताए।
दसैँ अगाडि गैँडाकोट, देवचुली र कावासोतीको केही स्थानमा मात्रै सडक मर्मत भएको भन्दै उनले दाउन्ने खण्डमा पूरै सडक मर्मत गर्नुपर्ने अवस्था रहेको बताए। सडक भत्किएको स्थानमा उड्ने धुलोका कारण स्थानीयवासी आजित भइसकेका छन्। सडक भत्किएको स्थानमा पानी छरेर धुलो नियन्त्रण गर्न आग्रह गर्दा समेत कम्पनीले अटेरी गर्दै आइरहेको सहायक प्रजिअ थापाको भनाइ छ।
राजमार्गमा पुल निर्माणको डाइभर्सन निर्माण गरिएको स्थान बाहेक अन्य क्षेत्रमा बिग्रिएको सडक मर्मत गर्दै डाइभर्सनमा पानी छर्केर धुलो उड्न नदिने निर्माण पक्षले प्रतिबद्धता जनाएको भए पनि काम भने गर्न सकेको छैन।
नारायणगढ बुटवल खण्डको झण्डै ११४ किलोमिटर सडकलाई चार लेनमा विस्तारको काम भइरहेको छ। गैँडाकोटदेखि दाउन्नेसम्मको करिब ६५ किलोमिटर सडक खण्ड १ मा अन्तर्गत पर्ने र यो सडकको सबैभन्दा बढी दूरावस्था यही खण्डमा रहेको छ। नारायणगढ बुटवल सडक आयोजनाका सूचना अधिकारी कृष्ण आचार्यले निर्माण कम्पनीलाई बिग्रिएको सडक चाँडो मर्मत गर्दै सडक विस्तारमा ध्यान केन्द्रित हुन आग्रह गरिएको बताए।
कछुवाको गतिमा सडक विस्तारको काम भइरहेको यो खण्डको आर्थिक प्रगति करिब ९ प्रतिशत मात्रै देखिएको छ। तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको सडक विस्तारको काम विसं २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए। रासस


























