न्यूयोर्क, मंसिर ३ । अमेरिकी राष्ट्रपति जो बाइडेले सन् २०२२ मा बेइजिङमा आयोजना हुने हिउँदे ओलम्पिक बहिस्कार गर्ने चेतावनी दिएका छन्। ‘बेइजिङमा हुन लागिरहेको हिउँदे ओलम्पिक कूटनीतिक ढङ्गले बहिस्कार गर्ने बारेमा हामीले सोचिरहेका छौँ,’ राष्ट्रपति बाइडेले भने।
कूटनीतिक बहिस्कारको अर्थ कुनै पनि अमेरिकी अधिकारी खेलसँग सम्बन्धित गतिविधिमा संलग्न हुने छैनन्। अमेरिका र चीनबीचको सम्बन्ध बिग्रिरहेका बेला अमेरिकाको पछिल्लो धारणा आएको हो।
सोमबार बाइडेन र चीनका राष्ट्रपतिबीच भर्चुअल बैठक सम्पन्न भएको थियो।
करिब चार घण्टा लामो सो बैठकमा दुवै नेताहरूले ओलम्पिक खेलबारे छलफल नगरेको ह्वाईटहाउका महिला प्रवक्ता जेन पेसाकीले बताइन्। कूटनीतिक बहिस्कारले खेललाई असर नगर्ने उनले बताइन्।
चीनमा भइरहेका मानव अधिकार दुर्व्यवहारका घटनाको विरोधमा अमेरिकाले कूटनीतिक तरिकाले बेइजिङ ओलम्पिक बहिस्कार गर्नुपर्ने डेमोक्रयाटिक र रिपब्लिक नेताहरूले बताउँदै आएका छन्।
बेइजिङ ओलम्पिक आगामी ४ फेब्रुअरीदेखि सुरु हुँदै छ।
चीनले सिन्जियाङमा त्यहाँका अल्पसंख्यक मुसलमानको दमन गरेको अमेरिकाले आरोप लगाउँदै आएको छ। हङकङको राजनीतिक स्वतन्त्रतामा दमन गरेको भन्दै अमेरिकाले चीनको विरोध गरेको छ। एजेन्सी


























