कार्तिक २९ । अष्ट्रेलियाले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको छ।
दुबईमा आइतबार राति भएको फाइनलमा न्युजिल्याण्डलाई ८ विकेटले हराउँदै अष्ट्रेलियाले उपाधि जितेको हो। अष्ट्रेलियाले पहिलो पटक टी-ट्वान्टी विश्वकपको उपाधि जितेको हो। पहिलो पटक फाइनल पुगेको न्युजिल्याण्ड भने उपाधि जित्नबाट बन्चित भएको छ।
दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा न्युजिल्याण्डले दिएको १ सय ७३ रनको लक्ष्य अष्ट्रेलियाले १८ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो।
अष्ट्रेलियालाई जित दिलाउन मिचेल मार्श र डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले। मार्शले अविजित रहदै ७७ रनको योगदान गरे। उनले ५० बलमा ६ चौका र ४ छक्का प्रहार गरे। वार्नरले ५३ रनको योगदान दिए।
यस्तै कप्तान आरोन फिन्च ५ रनमा आउट भए। ग्लेन म्याक्सवेल २८ रनमा अविजित रहे। न्युजिल्याण्डका ट्रेन्ट बोल्टले दुई विकेट लिए।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो। न्युजिल्याण्डका लागि कप्तान केन विलियम्सनले ८५ रनको अर्धशतकीय इनिङ्स खेले।
यस्तै मार्टिन गुप्टिलले २८ रन जोड्दा ग्लेन फिलिप्सले १८ रन बनाए। डार्यल मिचेलले ११ रन जोडे। जेम्स निशमले अविजित १३ रन जोड्दा टिम सेइफर्टले अविजित ८ रन बनाए।
अष्ट्रेलियाका जोस हाजलउडले १६ रन खर्चिएर ३ विकेट लिए। एडम जाम्पाले १ विकेट लिए। अष्ट्रेलियाले सेमिफाइनलमा बलियो टिम पाकिस्तानलाई ५ विकेटले हराएको थियो।
यस्तै न्युजिल्याण्डले सेमिफाइनलमा इंग्ल्यान्डलाई ५ विकेटले हराएको थियो।


























