कार्तिक १९ । अष्ट्रेलियाले यसै महिनामा हुन लागेको अफगानिस्तान पुरुष क्रिकेट टिम विरुद्धको टेस्ट खेल तत्कालका लागि स्थगित गरेको छ।
अष्ट्रेलियाले होवार्टमा अफगानिस्तानसँग नोभेम्बर २६ मा एउटा टेस्ट खेल्ने तय भएको थियो। तर तालिवानबाट शासित अफगानिस्तानको अवस्था स्पष्ट नभएसम्मको लागि अफगानिस्तान विरुद्धको टेस्ट स्थगित गरेको हो।
इंग्ल्यान्डविरुद्धको एसेज श्रृङखला अघि अफगानिस्तानसँग पहिलो पटक अष्ट्रेलियाले टेस्ट खेल्ने तय भएको थियो। तालिवान शासकहरुले अगस्टमा सत्ता आफ्नो कब्जामा लिएपछि महिलाहरुलाई क्रिकेट अथवा अन्य खेलका लागि अनुमति नदिने जनाएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नियम अनुसार टेस्ट खेल्नका लागि सबै १२ वटा फुल मेम्बरहरुसँग महिलाको राष्ट्रिय क्रिकेट टोली हुनुपर्छ। गत वर्ष नोभेम्बर २५ मा अफगानिस्तान क्रिकेट बोर्डले महिला क्रिकेटरसँग सम्झौता गरेको थियो।


























