कार्तिक १८ । आईसीसी टी–ट्वान्टी विश्वकपमा बंगालदेशविरुद्ध आज (बिहिबार) मैदान उत्रदै गर्दा अष्ट्रेलिया जितको खोजीमा हुनेछ। सुपर १२ को समूह १ अन्तर्गत बंगालदेश र अष्ट्रेलियाबीचको खेल दुबईमा दिउँसो पौने ४ बजे सुरु हुनेछ।
यस समूहमा लगातार चार खेल जित्दै इंग्ल्यान्डले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको अवस्थामा अघिल्लो चरणको सम्भावना कायमै राख्न अष्ट्रेलिया खेल जित्नै पर्ने दबाबमा हुनेछ।
तीन खेलमध्ये दुईमा जित र एकमा हार व्योहोरेको अष्ट्रेलियाको चार अंक छ। अष्ट्रेलियाले दक्षिण अफ्रिका र श्रीलंकालाई पराजित गरेको थियो भने इंग्ल्यान्डसँग पराजय भोगेको थियो।
तर चार खेलमध्ये तीनमा जित हात पारेको दक्षिण अफ्रिका ६ अंक सहित इंग्ल्यान्डपछि समूहको दोस्रो स्थानमा रहेको छ। श्रीलंका र वेस्ट इन्डिज समान दुई–दुई अंकसहित चौथो र पाँचौ स्थानमा रहेका छन्।
यता बंगलादेशले भने अघिल्ला सबै चार खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिसकेको छ। तर बंगलादेश भने अष्ट्रेलियालाई पराजित गर्दै प्रतियोगितामा सुखद अन्त्यको खोजीमा छ।
बंगालदेशले इंग्ल्यान्ड, दक्षिण अफ्रिका, श्रीलंका तथा वेस्ट इन्डिजविरुद्ध पराजय भोगेको थियो। आजै हुने दोस्रो खेलमा वेस्ट इन्डिजले श्रीलंकाको सामना गर्नेछ।


























