कार्तिक १६ । इंग्ल्यान्ड आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ।
सारजाहमा सोमबार राति भएको खेलमा श्रीलंकालाई २६ रनले हराउँदै इंग्ल्यान्डले सेमिफाइनलमा स्थान पक्का गरेको हो। इंग्ल्यान्डले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १९ ओभरमा अलआउट हुँदै १ सय ३७ रन मात्र बनाउन सक्यो।
श्रीलंकाका लागि वाविन्दु हसरंगा डी सिल्भाले सर्वाधिक ३४ रन बनाए। कप्तान डसुन शनकाले २६ रन जोडे। यस्तै भानुका राजपाक्षेले २६ रन जोड्दा चारिथ असलंकाले २१ रन बनाए। अभिस्का फर्नान्डो १३ रनमा आउट भए।
इंग्ल्यान्डका आदील राशिद, मोइन अली र क्रिस जोर्डनले २/२ विकेट लिए। लियाम लिभिङस्टोन र क्रिस वोक्सले १/१ विकेट लिए। यस अघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो।
इंग्ल्यान्डका लागि जोस बट्लरले अविजित रहदै १ सय १ रनको शतकीय इनिङ्स खेले। उनी जारी विश्वकपमा शतक बनाउने पहिलो खेलाडी समेत हुन्।
यस्तै कप्तान इयान मोर्गनले ४० रन बनाए। जासन रोयले ९, डाविड मालनले ६ तथा मोइन अलीले अविजित १ रन बनाए। जोनी बेयर्स्टो भने सुन्य रनमा आउट भए।
श्रीलंकाका वाविन्दु हसरंगाले ३ तथा दुश्मन्था चामिराले १ विकेट लिए। जितसँगै समूह १ मा रहेको इंग्ल्यान्डले ४ खेलमा ८ अंक जोडेको छ। समूहको शीर्ष स्थानमा रहेको इंग्ल्यान्ड सेमिफाइनल पुग्ने पहिलो टिम समेत बनेको छ।
अपराजित रहेको इंग्ल्यान्डले एक खेल अगाबै सेमिफाइनलमा स्थान बनाएको हो। यस अघि इंग्ल्यान्डले वेस्ट इन्डिज, बंगलादेश र अष्ट्रेलियालाई हराएको थियो। श्रीलंकाको भने यो तेस्रो हार हो। श्रीलंका ४ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ।


























