बागलुङ, कार्तिक १४ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा लामो समयदेखि गाँजिएर रहेका समस्या एकपछि अर्को गर्दै हल गरिने बताएकाछन्।
नेकपा (माओवादी केन्द्र) निसीखोला गाउँपालिकाले चाडबाडका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले अस्थायी र करार शिक्षकको व्यवस्थापन तथा दरबन्दी मिलानलगायत अल्झेर बसेका शिक्षा क्षेत्रका कामलाई अगाडि बढाइने बताएकाहुन्। “शिक्षा क्षेत्रमा चुनौतीको थुप्रो छ, ४०औँ वर्षदेखि समस्याहरु गाँजिएर रहेका छन्, तिनलाई क्रमशः हल गरिनेछ”, उनले भने, “अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयसँग पनि यस विषयमा छलफल भएको छ, अब लगत्तै काम सुरु हुन्छ।”
मन्त्री पाडैलले अस्थायी शिक्षकका जायज मागलाई नीति र विधिगत प्रबन्धमार्फत सम्बोधन गरिने भन्दै शिक्षक दरबन्दी मिलानको काम सुरु भइसकेको बताए। कार्यभार सम्हालेपछिको पहिलो फाइल दरबन्दी मिलानकै सदर गरेको उनले जानकारी दिए। “एकातिर शिक्षकको दरबन्दी अभाव र अर्कोतिर अस्थायी शिक्षकको समस्या यो अवस्थाको अन्त्य गर्न मन्त्रालयले काम अगाडि बढाएको छ”, मन्त्री पौडेलले भने। विशिष्ट परिस्थितिमा आफू मन्त्रालयको नेतृत्वमा आइपुगेको भन्दै उनले आफ्नो कार्यकाल शिक्षा क्षेत्रको सुधारमा खर्चने धारणा राखे।
मन्त्री पौडेलले शैक्षिक पूर्वाधार विकास र विद्यालय भवन पुनर्निर्माणको कामलाई पनि निरन्तरता दिइने बताए। उनले अन्तरमन्त्रालय समन्वय गरेर जिल्लाको विकास, निर्माणमा पनि यथाशक्य भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए। रासस


























