कार्तिक १४ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले २०२७ मा हुने एएफसी एसियन कप फुटबल प्रतियोगिताका लागि छनोट हुने विश्वास व्यक्त गरेका छन्।
सनिबार राती नेपाल आईपुगेपछि विमानस्थलमा प्रतिक्रिया दिदै अलमुताइरीले एसियन कपका लागि छनोट हुने विश्वास व्यक्त गरेका हुन्।
‘यदी हामीले कडा मेहनत गर्यौ भने हामी सन् २०२७ को एसियन कपका लागि छनोट हुन सक्नेछौ,’ अलमुताइरीले भने।
अहिले भने सन् २०२३ मा हुने एसियन कपको छनोट खेलहरु हुँदैछ। तर अलमुताइरीले सन् २०२३ को एसियन कपमा नेपाल छनोट हुन सक्ने वा नसक्नेबारे वाचा गर्न नसक्ने बताए।
‘म २०२३ को एसियन कपका लागि नेपाल छनोट हुन्छ वा हुन सक्दैन म त्यो वाचा गर्न सक्दिन तर आगामी संस्करणका लागि मेहनत गर्यौ भने हामी छनोट हुन्छौ,’ उनले थपे।
अखिल नेपाल फुटबल संघ (एन्फा) सँग दुई वर्षको सम्झौता नवीकरण गरेपछि उनी नेपाल आइपुगेका हुन्। उनले सम्झौता एक वर्ष बाँकी छदै नवीकरण गरेका हुन्।


























