कार्तिक १३ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी आज नेपाल आईपुग्ने भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) सँग सम्झौता नवीकरण गरेपछि प्रशिक्षक अलमुताइरी नेपाल आउन लागेका हुन्। एन्फाले प्रशिक्षक अलमुताइरी आज राति साढे ७ बजे नेपाल आईपुग्ने जनाएको छ।
प्रशिक्षक अलमुताइरीले सामाजिक संजाल फेसबुकबाट आफु नेपाल फर्कदै गरेको जनाएका छन्। अलमुताइरीले एन्फासँग दुई वर्षको सम्झौता नवीकरण गरेका थिए। उनले सम्झौता एक वर्ष बाँकी रहदै नवीकरण गरेका हुन्।
कुवेती प्रशिक्षक अलमुताइरीले नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्राएका थिए। माल्दिभ्समा दुई साता अघि सम्पन्न साफको फाइनलमा नेपाल भारतसँग ३-० ले पराजित भएको थियो।उपाधि जित्न नसकेपनि नेपाल पहिलो पटक साफको उपविजेता बनेको हो।
तर, फाइनल अघि प्रशिक्षक अलमुताइरीले फाइनल खेल नेपालको लागि आफ्नो अन्तिम खेल भएको बताएका थिए। अलमुताइरी माल्दिभ्सबाटै कुवेत फर्किएका थिए।


























