कार्तिक १० । गैँडाकोट नगरपालिकाले हेटौँडा उपमहानगरपालिकालाई पराजित गर्दै उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा गैँडाकोटले हेटौँडालाई १–० गोल अन्तरले पराजित गर्दै गैँडाकोटले सुखद सुरुआत गरेको हो। गैँडाकोटको जीतमा ऋतु तामाङले खेलको ५६औँ मिनेटमा गरेको एक गोल नै निर्णायक गोल साबित भयो।
जीतसँगै समूह ‘एफ’को गैँडाकोटले तीन अङ्क जोडेको छ भने नकआउट चरणमा पुग्ने सम्भावनासमेत बलियो बनाएको छ। प्रतियोगितामा विभिन्न ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। सहभागी टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले १० समूहमा विभाजन गरेको छ।
प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन्। यस्तै प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख तथा उपविजेताले रु तीन लाख पाउनेछन्।


























