कार्तिक १० । चेल्सीले इङ्लिस प्रिमियर लिगको प्रतिद्वन्द्वी साउथह्याम्पटनलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै लिग कपको क्वार्टरफाइनलमा स्थान बनाएको छ।
निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टी सुटआउटमा साउथह्याम्पटनका थियो वाटकट र विलिम्स स्मलबोनले गोल गर्न नसककेको अवस्थामा चेल्सीका रिसे जेम्सले निर्णायक गोल गरेका थिए। चेल्सीका मासन माउन्ट पनि पेनाल्टीमा गोल गर्न चुके।
चेल्सीका मार्कोस एलोन्सो, कालुम हडसन–ओडोई, बेन चिलवेल र जेम्सले गोल गरे। साउथह्याम्पटनका एडम आर्मस्ट्रङ, शाने लङ र ओरियल रोमोउले गोल गरे।
निर्धारित समयमा चेल्सीले ४४औं मिनेटमा काई हाभार्टजको गोलबाट अग्रता लिएको थियो। चेल्सीले प्रिमियर लिगमा नर्विच सिटीमाथि ७–० को विजय हासिल गर्दाको टिमका ६ खेलाडीलाई साउथह्याम्पटनविरुद्ध पनि खेलाएको थियो। हाभार्टजको जारी सिजनमा यो तेस्रो गोल हो। दोस्रो हाफको सुरुमै साउथह्याम्पटनका चे एडम्सले बराबरी गोल फर्काएका थिए।
त्यसपछि पनि दुबै टोलीले गोलका केही राम्रा अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेनन्। एसिएल चोटका कारण नौ महिना मैदानबाहिर रहेका स्मलबोन पुनरागमन आफूलाई अब्बल सावित गरे पनि पेनाल्टीमा चुकेका थिए।
‘‘आजको खेल निकै प्रतिस्पर्धात्मक रह्यो,’’ चेल्सीका प्रशिक्षक थोमस टुचेलले भने, ‘‘आजको खेल बराबरीको थियो। नतिजा जसको पक्षमा पनि जान सक्थ्यो। पेनाल्टी सुटआउटमा पनि हामीले राम्रो गर्यौं। र नतिजाबाट हामी खुसी छौं।’’
क्वार्टरफाइनलको ‘ड्र’ शनिबार सार्वजनिक हुनेछ।


























