कार्तिक १० । पाकिस्तानले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ।
सारजाहमा मंगलबार राति भएको खेलमा न्युजिल्याण्डलाई ५ विकेटले पराजित गर्दै पाकिस्तानले लगातार दोस्रो जित निकालेको हो। यस अघि पहिलो खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो। न्युजिल्याण्डले भने हारबाट विश्वकपको सुरुआत गरेको छ।
न्युजिल्याण्डले दिएको १ सय ३५ रनको लक्ष्य पाकिस्तानले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। पाकिस्तानको जितमा मोहमद रिजवानले ३३ रन जोडे। यस्तै शोयब मलिक र आसिफ अलीले अविजित रहदै समान २७ रन बनाए।
यस्तै फखर जमान, मोहमद हाफिज र इमाद वासिम समान ११ रनमा आउट भए। कप्तान बाबर आजम ९ रनमा आउट भए। न्युजिल्याण्डका इश सोधीले २ विकेट लिए। मिचेल स्टानर, टिम साउथी र ट्रेन्ट बोल्टले १/१ विकेट लिए। यस अघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो। न्युजिल्याण्डका लागि डेभोन कोन्वे र डार्य्ल मिचेलले २७/२७ रन जोडे।
कप्तान केन विलियम्सनले २५ रन जोड्दा मार्टिन गुप्टिलले १७ तथा ग्लेन फिलिप्सले १३ रन बनाए। पाकिस्तानका हरिस राउफले ४ विकेट लिए। शहिन साह अफ्रिदी, इमाद वासिम र मोहमद हाफिजले १/१ विकेट लिए।
जितसँगै पाकिस्तानले २ खेलमा ४ अंक जोडेको छ। समूह २ मा रहेको पाकिस्तान शीर्ष स्थानमा रहेको छ। न्युजिल्याण्ड अंक विहीन रहेको छ।


























