कार्तिक ९ । अफगानिस्तानले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा विजयी सुरुआत गरेको छ।
सारजाहमा सोमबार भएको खेलमा स्कटल्याण्डलाई १ सय ३० रनले पराजित गर्दै अफगानिस्तानले सुखद सुरुआत गरेको हो। अफगानिस्तानले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको स्कटल्याण्ड १० ओभर २ बलमा अलआउट हुँदै ६० रनमा समेटियो।
स्कटल्याण्डका जर्ज मुन्सेले २५ रन जोड्दा क्रिस ग्रेभिसले १२ रन बनाए। यस्तै कप्तान केली कोट्जरले १० रन बनाए। अफगानिस्तानका मुजिब उर रहमान एक्लैले ५ विकेट लिए। राशिद खानले ४ तथा नभिन उल हकले १ विकेट लिए।
यस अघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९० रन बनाएको थियो। अफगानिस्तानका लागि नाजिबउल्लाह जाड्रनले ५९ रनको अर्धशतकीय इनिङ्स खेले।
रहमानउल्लाह गुर्बाजले ४६ रन जोड्दा हज्रातउल्लाह जाजईले ४४ रन बनाए। मोहमद शाहजादले २२ रन जोड्दा कप्तान मोहमद नाबीले अविजित ११ रन बनाए। स्कटल्याण्डका साफ्यन शारिफले २ तथा जोस डेभि र मार्क वाटले १/१ विकेट लिए।
जितसँगै समूह २ को अफगानिस्तानले १ खेलमा २ अंक जोडेको छ। अफगानिस्तान शीर्ष स्थानमा रहेको छ।


























