काठमाडौं, कार्तिक ७ । नेपालले भोलि सोमबार इरानसँग प्रतिस्पर्धा गर्दै एएफसी यू-२३ एसियन कप छनोटको यात्रा सुरु गर्दैछ।
यस पटकको छनोटमा नेपाल समूह ‘बी’ मा आयोजक ताजिकिस्तान, इरान र लेबनानसँगै रहेको छ। नेपालले दोस्रो खेल आयोजक ताजिकिस्तानविरुद्ध बिहीबार र अन्तिम खेल लेबनानसँग अर्को आइतबार प्रतिस्पर्धा गर्नेछ।
खासमा अहिले यू-२३ को रुपमा रहेको प्रतियोगिताको पहिलो संस्करण सन् २०१३ मा एएफसी यू-२२ एसियन कपको रुपमा खेलाइने तय भएपनि सन् २०१४ मा खेलाइएको थियो। तर, त्यसपछिका प्रतियोगिताहरु भने यू-२३ को रुपमा खेलाइने गरिएको छ।
नेपालले अहिलेसम्म भएका चारवटै छनोट खेलिसकेको छ। पाँचौ पटक छनोट खेल्न लागेको नेपालका प्रमुख प्रशिक्षक बालगोपाल महर्जनले राम्रो नजिता निकाल्न तयार रहेको बताएका छन्।
तर, इतिहास हेर्दा एएफसी यू-२३ एसियन कपमा नेपालको अघिल्ला छनोट प्रतियोगिताहरु खासै उत्साहजनक भने छैन। नेपालले अघिल्ला चारवटै छनोटमा सहभागिता जनाउँदा १४ वटा खेल खेलेको छ। जसमध्ये केवल एउटा खेल जित्दा बाँकी १३ खेलमा पराजय भोगेको छ।
नेपालले एक मात्र जित सन् २०१२ मा काठमाडौंस्थित दशरथ रंगशालामा बंगलादेशविरुद्ध निकालेको थियो। छनोटको पहिलो खेलमै नेपालले ४–१ ले जितेको थियो। तर, त्यसपछि भने नेपालले जितको स्वाद चाख्न सकेको छैन।
छनोट अन्तर्गत नेपालले उज्वेकिस्तान, अफगानिस्तान र साउदी अरेबियासँग समान दुई–दुई पटक पराजय भोग्दा अन्य सातवटा देशसँग एक–एक खेलमा हार्न पुगेको छ।
नेपालले उज्वेकिस्तानसँग सन् २०१२ मा ४–२ तथा सन् २०१७ मा २–० ले पराजय भोगेको थियो। त्यसैगरी, अफगानिस्तानसँग सन् २०१५ र सन् २०१९ मा समान २–० गोल अन्तरले पराजित भयो।
यता साउदी अरेबियासँग २०१५ मा ६–० र २०१७ मा साउदी अरेबियासँग ५–० ले हार व्यहोरेको छ।
त्यसबाहेक नेपालले सन् २०१२ मा जोर्डनसँग ३–० र यमनसँग १–० ले पराजित हुँदा सन् २०१५ मा इरानसँग ५–० तथा प्यालेस्टाइनसँग ४–०, सन् २०१७ मा लेबनानसँग २–० तथा सन् २०१९ मा कतारसँग ५–० र ओमानसँग १–० को पराजय भोगेको थियो।
तर, यस पटक प्रशिक्षक महर्जन राम्रो नजिता ल्याउनेमा आशावादी छन् र उनको आशा विश्वासमा बदलिने हो वा आशामै सिमित हुने हो सो सोमबार हुने पहिलो खेलको नजिताले देखाउने छ।


























