काठमाडौं, कार्तिक ७ । प्रधानमन्त्री शेरबहादुर देउवा पूर्वका बाढी, पहिरो र डुबान प्रभावित जिल्लाको अवस्था बुझ्न आज बिहान त्यसतर्फ जाँदै छन्। उनी बाढी, पहिरो र डुबान प्रभावित जिल्ला सुनसरी, मोरङ, इलाम र पाँचथर जानुहुने उहाँको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री देउवाको चारै जिल्लामा प्रभावित क्षेत्रको अवलोकन, पीडितसँग भेटघाट र प्रभावित जिल्लाको अवस्थाका बारेमा जानकारी लिने कार्यक्रम तय भएको छ। उनी आजै साँझ काठमाडौँ फर्कने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।
यसअघि प्रधामन्त्री देउवाको नेतृत्वमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायरसहितको टोलीले बिहीबार र शुक्रबार सुदूरपश्चिमका बाढी, पहिरो र डुबान प्रभावित जिल्ला पुगेर सो क्षेत्रको अवस्थाका बारेमा जानकारी लिएको थियो। रासस


























