कार्तिक ७ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ।
शनिबार राति भएको खेलमा सिटीले ब्राइटनलाई ४-१ गोल अन्तरले पराजित गरेको हो। सिटीको जितमा फिल फोडेनले दुई गोल गरे। इल्के गुन्डोगान र रियाद महरेजले एक एक गोल गरे।
ब्राइटनका एलेक्सिस माकले एक गोल फर्काए। खेलको १३ औं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए। २८ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई २-० को अग्रता दिलाए।
खेलको ३१ औं मिनेटमा फोडेनले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३-० को अग्रता दिलाए। खेलको ८१ औं मिनेटमा ब्राइटनका माकले पेनाल्टीबाट एक गोल गर्दै खेललाई ३-१ को स्थितिमा ल्याए। त्यसपछि खेलको इन्जुरी समयमा महरेजले गोल गर्दै सिटीलाई ४-१ को जित दिलाए।
यस जितसँगै सिटीले ९ खेलमा २० अंक जोडेको छ। सिटी लिगको दोस्रो स्थानमा रहेको छ। ब्राइटन १५ अंक जोडेर चौंथो स्थानमा रहेको छ। एजेन्सी


























