कार्तिक ६ । श्रीलंका समूह विजेता बन्दै आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको सुपर १२ मा प्रवेश गरेको छ ।
सारजाहमा शुक्रबार राति नेदरल्यान्ड्सलाई ८ विकेटले पराजित गर्दै श्रीलंका लगातार तेस्रो जित निकाल्दै समूह विजेता बनेको हो। नेदरल्यान्ड्सले दिएको ४५ रनको लक्ष्य श्रीलंकाले ७ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्यो।
श्रीलंकाको जितमा कुशल परेराले अविजित रहदै ३३ रन बनाए। चारिथ आसलन्का ६ रनमा आउट हुँदा अभिस्का फर्नान्डो २ रनमा अविजित रहे। ओपनर पाथुम निसान्का सुन्य रनमा आउट भए। नेदरल्यान्ड्सका ब्राण्डन ग्लोभर र पाउल भानले १/१ विकेट लिए।
यस अघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १० ओभरमा अलआउट हुँदै ४४ रन बनाएको थियो। नेदरल्यान्ड्सका कोलिन एकार्मानले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। उसका बेन कोपर ९ रनमा आउट हुँदा कप्तान पिटर सिलार २ रनमा आउट भए। स्कट एड्वार्डले ८ रन बनाए।
नेदरल्यान्ड्सलाई सस्तैमा समेट्न लाहिरु कुमारा र वानिन्दु हसरंगा डी सिल्भाले ३/३ विकेट लिए। महेश थिकसानाले २ तथा दुश्मन्था चामिराले १ विकेट लिए।
यस जितसँगै पहिलो चरणको समूह ए मा रहेको श्रीलंकाले ३ खेलमा ६ अंक जोड्यो। र, श्रीलंका समूह विजेता बन्यो। यस समूहबाट नामिबिया ४ अंक जोड्दै उपविजेता बन्दै सुपर १२ मा पुगेको छ। नेदरल्यान्ड्स र आयरल्याण्ड भने बाहिरिएको छ। अंक विहीन नेदरल्यान्ड्स पुछारमा रह्यो। आयरल्याण्डले २ अंक जोड्यो।


























