बैतडी, कार्तिक ५ । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ। गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको प्राकृति विपद्को घटनामा परी आज बिहानसम्म यस प्रदेशमा ३३ जनाको मृत्यु भएको हो।
विपदबाट सबैभन्दा बढी डोटीमा मानवीय क्षति भएको छ। जिल्लामा १६ जनाको मृत्यु भएको छ। बझाङमा नौ, बैतडीमा चार, डडेलधुरामा तीन र कैलालीमा एक जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
विपद्मा परी यस प्रदेशमा २२ जना बेपत्ता छन्। बझाङमा २० र बैतडी, कैलाली, एक÷एक बेपत्ता रहेका हुन्। यस्तै विपद्मा परी १७ जना घाइते छन्। डोटीमा ११, डडेलधुरामा दुई, बैतडीमा दुई र बझाङ र बाजुरमा एक/एक जना घाइते भएका हुन्।
विपद्मा परी बाजुरा, डोटी, डडेल्धुरा, बझाङ, जिल्लामा गरी १०० बढी पशु चौपाया पनि मरेका छन्। पहिराका कारण बझाङमा १२, डोटीमा छ र डडेल्धुरामा दुई गरी २० घरमा पूर्णरुपमा क्षति पुगेको छ।
बाढीका कारण यहाँका २१६ घरधुरी डुबानमा परेकामा ४३० जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार गरेको जनाइएको छ। बाढी, पहिराकै कारण सुदूरपश्चिम प्रदेशमा करोडौँको धनमालको क्षतिसमेत भएको प्रहरीले जनाएको छ। अहिले यहाँको जनजीवन सामान्य बन्दै गएको छ। रासस

























