चितवन, कार्तिक ५ । बेमौसमी वर्षाका कारण प्रभावित बनेका किसानलाई रत्ननगर नगरपालिकाले राहत उपलब्ध गराउने भएको छ। धान काटेर सुकाइएको बेला वर्षा भएपछि पीडित बनेका किसानहरुलाई नगरपालिकाले तत्काल राहत उपलब्ध गराउने भएको हो
अविरल वर्षाका कारण क्षति पुगेको धान खेतमै पुगेर किसानलाई प्रति बिघा १० हजार रुपैयाँ राहत दिने रन्ननगर नगरपालिकाका मेयर नारायण वनले घोषणा गरेका हुन्।
प्रतिकठ्ठा पाँच सय अर्थात् विघाको १० हजार रुपैयाँका दरले किसानलाई राहत उपलब्ध गराउने मेयर वनले घोषणा गरेकाछन्। तत्काल कार्यपालिकाको बैठक बसेर राहतको विषयमा निर्णय गर्ने उनले बताए। रत्ननगर नगरपालिकाले १६ वटै वडामा क्षतिको विवरण संकलन गरिरहेको छ। एक साताभित्र नै क्षतिको विवरण निकालेर राहत दिने मेयर बनले बताए।
कृषि विकास शाखाका कर्मचारीसहित वडाका जनप्रतिनिधि र कर्मचारीहरुले किसानको खेतमै पुगेर क्षतिको विवरण संकलन गरिरहेका छन्। वर्षाका कारण भिजेको धान खेतमै उम्रिन थालेको छ।


























