काठमाडौं, कार्तिक ४ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेतृत्वको गलत आचरणले पार्टी कमजोर भएको आरोप लगाएका छन्। उनले नेतृत्वले परम्परा र मूल्यमान्यता विपरीत काम गर्दा पार्टी कमजोर भएको बताए।
धादिङको धुनिबेसीमा नेपाली कांग्रेस धुनिबेसी नगर समितिको कार्यलय भवन उदघाटन गर्दै नेता सिंहले अबको नेतृत्व विधि, पद्धति र मूल्यमान्यता पालना गर्नसक्ने हुन आवश्यक रहेको बताए।
उनले विधिसम्वत र संस्थागत रुपमा पार्टीलाई अगाडी बढाउनको लागी सक्षम नेतृत्व चाहिने बताए।
पार्टीका सिनियर नेतालाई सम्मान गर्ने तर अबसर पाउँदा पनि काम गर्न नसक्नेलाई नेतृत्व सुम्पिन नहुने उनको तर्क छ। उनले तोकिएको मितिमा पार्टीको आसन्न १४ औं महाधिबेशन गर्न सबैले दबाब दिनुपर्ने पनि बताए।
उनले भने, ‘महाधिबेशन कुनै पनि हालतमा तोकिएकै मितिमा गर्नु पर्दछ। क्रियाशिल सदस्यता विधि र पद्धती अनुसार वितरण हुनुपर्छ। यसअघिको सहमति अनुसार नै पार्टीको अधिवेशन अगाडी बढाउनु पर्दछ। यसमा नेतृत्वले ध्यान दिन जरुरी छ।’
अधिवेशन त समयमा नै गर्न नसकेको कांग्रेसले कसरी देश विकास गर्न सक्छ भन्दै जनताले प्रश्न गरेको उनले बताए।


























