कार्तिक ३ । चीनमा सन् २०२३ मा आयोजना एएफसी एसियन कपको छनोटको अन्तिम चरणको खेलहरु एकै स्थानमा आयोजना हुने भएको छ।
एसियाली फुटबलको सर्वोच्च निकाय एएफसीले छनोट अन्तर्गतको अन्तिम चरणको खेलहरु ‘होम एण्ड अवे’ को आधारमा नहुने जनाएको छ। एएफसीले अन्तिम चरणको खेलहरु सिंगल राउण्ड रोबिनको आधारमा केन्द्रीकृत मैदानमा खेलाइने जनाएको छ।
कोरोना भाइरस महामारीका कारण उत्पन्न चुनौतीहरुलाई ध्यानमा राखी सम्बन्धित सबै सरोकारवालाहरुको सुरक्षालाई प्राथमिकता दिएर एएफसी कार्यकारी समितिले यस्तो निर्णय गरेको हो।
छनोटको अन्तिम चरणको खेल सन् २०२२ को जून ८, ११ र १४ तारिखमा गरिने तथा खेल आयोजनाका लागि सहभागी सदस्यहरुलाई सो खेलहरु आयोजना गर्नका लागि प्रस्ताव पेश गर्न प्रक्रिया अघि बढाइने एएफसीले जनाएको छ।
एएफसीका अनुसार प्रतिस्पर्धाको नियममा आधारित रहेर आवश्यक परे नयाँ खेल तालिका परिवर्तन गर्न सकिनेछ। यसै महिनाको सुरुवातमा भएको छनोट प्ले-अफमार्फत इन्डोनेसिया र कम्बोडियाले एसिया कपको लागि आफ्नो स्थान सुरक्षित गरिसकेको छ। एजेन्सी

























