कार्तिक १ । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले रोमान्चक जित निकालेको छ।
आइतबार राति भएको खेलमा टोटेनहमले न्युकासल युनाईटेडलाई ३-२ गोल अन्तरले पराजित गरेको हो। न्युकासलको मैदानमा एक गोलको अग्रता उल्टाएर टोटेनहमले जित निकालेको हो।
खेलको दोस्रो मिनेटमा कलुम विल्सनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। १७ औं मिनेटमा तान्गुय एन डोम्बोलेले गोल गर्दै टोटेनहमलाई १-१ गोलको बराबरीमा ल्याए। खेलको २२ औं मिनेटमा ह्यारी केनले गोल गर्दा टोटेनहम २-१ ले अघि रह्यो।
पहिलो हाफको इन्जुरी समयमा सन ह्युङ मिनले गोल गर्दा टोटेनहम ३-१ ले अघि रह्यो। त्यसपछि खेलको ८९ औं मिनेटमा एरिक डायरले आत्मघाती गोल गरेपनि टोटेनहम ३-२ ले विजयी भयो।
त्यस्तै खेलको ८३ औं मिनेटमा जोन्जो शिल्भीले रातो कार्ड पाएपछि न्युकासल १० खेलाडीमा समेटिएको थियो। यस जितसँगै टोटेनहमले ८ खेलमा १५ अंक जोडेको छ। टोटेनहम पाँचौं स्थानमा रहेको छ। न्युकासल ३ अंक जोडेर १९ औं स्थानमा रहेको छ।


























