कार्तिक १ । आईसीसी टी–२० विश्व कप क्रिकेट आज आइतवारदेखि सुरु भएको छ। उद्घाटन खेलमा आज ओमानले पपुवा न्युगिनीलाई १० विकेटले हराएको छ। पपुवा न्युगिनीले दिएको एक सय ३० रनको लक्ष्य ओमानले १३ ओभर चार बलमा कुनै पनि विकेट नगुमाइ भेट्यायो।
यसअघि ओमानको अल अमिरातमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले २० ओभरमा नौ विकेट गुमाएर एक सय २९ रन बनायो। उसका लागि असद भालाले सर्वाधिक ५६ रन बनाए। ओमानका जीसन मक्सुदले चार विकेट लिए।
विश्व कपको पहिलो चरणमा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। पहिलो चरणमा खेल्ने टोलीमध्ये आयरल्यान्ड, नामिबिया, श्रीलङ्का र नेदरल्यान्ड्स समूह ‘ए’ मा छन् भने बङ्गलादेश, स्कटल्यान्ड, पपुवा न्युगिनी र ओमान समूह ‘बी’ मा रहेका छन्। दुई वटा समूहका शीर्ष दुई/दुई टोली अन्तिम १२ मा पुग्नेछ।
अन्तिम १२ का खेल आउँदो शनिवारदेखि सुरु हुनेछ।


























