चैत्र ८ । कोरोना भाइरसबाट प्रभावित हुनेको मृत्युदर ११ प्रतिशत पुगेको छ। कोरोना भाइरसबाट प्रभावित हुने मध्ये ११ प्रतिशतको मृत्यु भएको विश्व स्वास्थ्य संघठनले जनाएको छ। विश्वव्यापी रुपमा फैलिरहेको भाइरसको कारणले सबैभन्दा धेरै प्रभावित ८० वर्षभन्दा माथिका वृद्धहरु देखिएका छन्।
अहिलेसम्म कोरोनाको संक्रमण देखिएका मध्ये ८९ प्रतिशतलाई निको भएको छ। ९१ हजार ९५४ जना कोरोना संक्रमणपछि स्वस्थ भएका छन्। ती मध्येबाट ११ हजार ४१९ जनाको भने मृत्यु भएको हो।
संक्रमित मध्ये ५ प्रतिशतको अवस्था गम्भीर भने बाँकी ९५ प्रतिशत साधारण अवस्थामा छन्। हाल ७ हजार ९११ को स्वास्थ्य अवस्था नाजुक छ। कोरोनाको कारणले मृत्यु हुने मानिसहरु सबैभन्दा धेरै ६० वर्षभन्दा माथिको उमेर समूहका छन्। १० वर्षभन्दा मुनिका बालबालिकाको मृत्युदर धेरै कम छ।
यो भाइरस हालसम्म १८५ वटा देशका मानिसहरुमा देखिसकेको छ। चीनबाट सुरु भएको यसको संक्रमण अहिले विश्वभरी फैलिरहेको छ। सुरुमा चीनमा धेरै मानिको मृत्यु भएकोमा पछिल्लो समय युरोप अमेरिकी देशका नागरिकको मृत्युदर बढिरहेको छ। हाल सबैभन्दा धेरै इटालीमा चार हजार ३२ जनाको मृत्यु भएको छ।
हाल संक्रमण दर र मृत्युदर अमेरिकामा बढिरहेको छ। आज मात्रै अमेरिकामा ३९० भन्दा धेरैलाई नयाँ सक्रमण देखिएको छ। त्यस्तै थप १९ जना भन्दा धेरैको मृत्यु भएको छ। हालसम्म अमेरिकामा २७५ जनाको मृत्यु भैसकेको छ।


























