असोज २८ । कोलकाता नाइट राइडर्स ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।
सारजाहमा बुधबार राति भएको दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गर्दै कोलकाता फाइनलमा पुगेको हो। दिल्लीले दिएको १ सय ३६ रनको लक्ष्य कोलकाताले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्यो।
कोलकाताको जितमा भेन्कातेस एयरले ५५ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै सुबमन गिलले ४६ रन जोड्दा नितिश रानाले १३ रन बनाए। राहुल त्रिपाठी १२ रनमा अविजित रहे। कप्तान इयान मोर्गन, शकिब अल हसन र सुनिल नारिन खाता नखोल्दै पेभेलियन फर्किए।
दिल्लीका कागिसो राबडा, एन्रिच नोर्किया र रविचन्द्र आश्विनले २र२ विकेट लिए। यस अघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३५ रन बनाएको थियो।
दिल्लीका लागि शिखर धवनले ३६ रन जोड्दा श्रेयस एयरले अविजित ३० रन बनाए। पृथ्वी श र मार्कुस स्टोनिसले १८/१८ रन जोडे भने शिम्रन हिटमायरले १७ रन बनाए। कोलकाताका वरुण चक्रवर्तीले २ विकेट लिए। लक्की फर्गुसन र शिबम माभीले १/१ विकेट लिए।
अब फाइनलमा कोलकाताले चेन्नई सुपर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ। चेन्नई पहिलो क्वालिफायरमा दिल्लीलाई नै हराएर फाइनल पुगिसकेको छ। फाइनल खेल शुक्रबार दुबईमा हुनेछ।


























