चितवन २३ असोज । कवि सुरेन्द्र अस्तफल ‘तेल भिसा’ कवितासंग्रहमार्फत पुनः पाठकमाझ उपस्थित भएका छन्। चितवन स्थायी घर भई हाल शिक्षण पेसामा आवद्ध रहेका कवि अस्तफलले साहित्य सिर्जनामा पनि निरन्तरता दिने क्रममा तेल भिसा प्रकाशनमा ल्याएका हुन्। शिखा बुक्सले प्रकाशन गरेको उक्त कवितासंग्रह काठकाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा कवि श्रवण मुकारुङको उपस्थितिमा घटस्थापनाको दिन पारेर लोकार्पण गरिएको हो।
सामाजिक यथार्थवादमा आधारित कविता कोर्न मन पराउने अस्तफलले यसअघि पनि ‘शब्दहरू अविराम यात्रामा’, ‘आमा’, ‘बिम्ब शिविर’ र ‘हिउँको आरोहण’जस्ता सफल कृति पाठकमाझ ल्याइसकेका छन्। हाल चितवनको साहित्य क्षेत्रका धनी संस्था चितवन साहित्य परिषदका अध्यक्षसमेत रहेका अस्तफल नेपाली लेखक संघ, आमा सुमित्रादेवी साहित्य प्रतिष्ठानलगायत विभिन्न संघसंस्थामा विभिन्न जिम्मेवारीमा आवद्ध छन्।
कवितासङ्ग्रह ‘तेल भिसा’मा युगबोध, जीवनबोध एवम् जीवन भोगाइका कटु यथार्थको प्रकटीकरणका साथै अस्तित्वबोध, विसङ्गतिबोध र प्रणयचेतको अभिव्यक्ति पाइन्छ। काठमाडौंमा लोकार्पण गरेको पुस्तक गृहविमोचन हुन बाँकी छ। अबको केही दिनमा गृहविमोचन तथा अन्तर्क्रिया गर्ने तयारीमा रहेको कवि अस्तफलले बताए।


























