चितवन, असोज २३ । भरतपुर महानगरपालिका वडा नम्बर ८ मा रहेको ज्योती यूवा क्लबको आयोजनामा भएको अन्तर टोल विकास मैत्रीपुर्र्ण खुल्ला फुटबल प्रतियोगिताको उपाधिका लागि अभियान र वनदेवि सल्यानी टोल विकास संस्था बिच प्रतिसप्रर्धा हुने भएको छ।
शनिवार (आज) विहान भएको पहिलो खेलमा जानकी टोल विकास संस्थालाई ५–४ गोल अन्तरले पराजित गर्दै अभियान फाइनलमा प्रवेश गरेको हो। ज्योति खेल मैदानमा भएको खेलमा अतिरिक्त समयमा २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। सो खेलको म्यान अफ दि म्याच अभियानका सयूज विष्ट भएका थिए।
यस्तै आज विहान भएको दोस्रो खेलमा शान्ति टोल विकास संस्थालाई १–० गोल अन्तरले पराजित गर्दै वनदेवि सल्यानी टोल विकास संस्थाले उपाधिका लागि अभियानसंगको खेल पक्का गरेको हो। सो खेलको म्यान अफ दि म्याच सन्तोस श्रेष्ठ भएका थिए। फाइनल खेल असोज २५ गते विहान साढे ६ बजे हुनेछ। यस्तै भोलि तेस्रो स्थानका लागि जानकी र शान्ति टोल विकास संस्था बिच प्रतिसप्रर्धा हुनेछ। आज भएको खेलमा वाग्मती प्रदेश सांसद रिना गुरुङको पनि उपस्थिति रहेको थियो। सो अवसरमा बोल्दै गुरुङले चौथो पुरस्कारका लागि १० हजार रुपैयाँ दिने घोषणा गरेकाछन्। उनले संस्थालाई अघिपछि पनि सहयोग गर्ने प्रतिवद्धता जनाए।
प्रतियोगितामा प्रथम पुरस्कार ५० केजिको खसी रहेको छ। त्यस्तै द्धितिय पुरस्कार ३० र तृतीय पुरस्कार २० केजिको खसी रहेको प्रतियोगिताका दर्ता समिति संयोजक ज्ञानहरी कंडेलले जानकारी दिए। वडा स्तरिय खेलाडी उत्पादन गर्ने उदेश्यले आयोजना गरिएको यस प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने ३० जना खेलाडीलाई दुई महिना बन्द प्रशिक्षणमा राखिने उनले बताए।
असोज १९ गतेदेखि सुरु भएको प्रतियोगितामा १६ वटा टिमको सहमागिता रहेको थियो। २०५५ सालमा स्थापना भएको ज्योति यूवा क्लबले पाँच बर्षदेखि दशैको अवसर पारेर निरन्तर विभिन्न खेलकुदका कार्यक्रम आयोजना गर्दै आएको छ। संस्थाले विशेष गरि दशैमा फुटबल, तिहारमा म्याराथोन र नयाँ बर्षमा भलिबलको आयोजना गर्ने गर्दछ।


























