काठमाडौं, असोज २३ । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनलमा पोखरा राइनोजले चितवन टाइगर्सलाई जितका लागि १ सय १२ रनको लक्ष्य दिएको छ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १७ ओभर ५ बलमा अलआउट हुँदै १ सय ११ रन बनायो। पोखराका लागि असेला गुनारत्नेले सर्वाधिक ३४ रन बनाए। रिचार्ड लेभीले २६ रन जोड्दा विपिन रावलले १७ रन बनाए। कप्तान विनोद भण्डारीले २२ रन बनाए । किशोर महतो १ रनमा अविजित रहे।
विवेक यादव ४, रित गौतम २, सहन अर्चाचिगे २ बिक्रम सोब १ रनमा आउट हुँदा लोकेश बम र नन्दन यादव खाता नखोली पेभेलियन फर्किए। पोखरालाई सस्तैमा रोक्न चितवनका कमल सिंह ऐरीले ४ विकेट लिए। उनले मात्र २० रन खर्चिए। यस्तै करिम जनत र सेकुग्गे प्रसन्नले २/२ विकेट लिए। सोमपाल कामी र सागर ढकालको नाममा १/१ विकेट रह्यो।
आज दुबै टिम जित निकाल्दै पहिलो पटक उपाधि उचाल्न चाहन्छ। सोमपाल कामीको कप्तानीमा रहेको चितवन र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पहिलो पटक ईपीएलको फाइनलमा पुगेको हो।
पहिलो क्वालिफायरमा चितवनले पोखरालाई नै हराएर फाइनलमा स्थान पक्का गरेको थियो। तर, दोस्रो क्वालिफायरमा पोखराले भैरहवा ग्लाडियसर्टलाई हराएर फेरि चितवनसँगको भेट पक्का गरेको थियो।
यस संस्करणको विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने छन्।


























